03 Apr अनाथालयमा मनाइयो रमेश कर्पको संस्थापक दिवस
विभिन्न औद्योगिक तथा व्यावसायिक संस्थाहरूको कर्पोरेट समूह रमेश कर्पोरेसनले आफ्नो तेस्रो संस्थापक दिवस संस्थापक सामाजिक उत्तरदायित्व पूरा गर्दै अनाथालयमा मनाएको छ । संस्थाले यो वर्षको संस्थापक दिवस काठमाडौंको नक्सालमा रहेको बालमन्दिर अनाथालयमा मनाएको हो ।
संस्थापक रमेश गुप्ताको सम्झनामा गरिएको कार्यक्रममा रमेश कर्पका सदस्यहरूले अनाथालयमा विभिन्न रमाइला गतिविधिको आयोजना गरी बालबालिकासँग समय बिताउनुका साथै बाललालिकालाई एक महिना पुग्ने खाद्य पदार्थ र स्टेसनरीजस्ता आवश्यक वस्तुहरू वितरण गरेर मनाएको संस्थाको भनाइ छ । कार्यक्रमले सामाजिक उत्तरदायित्वप्रति कम्पनीको प्रतिबद्धताले समाजमा सकारात्मक प्रभाव पार्ने आफ्नो मूल्य–मान्यता र समर्पणलाई झल्काउने संस्थाको दाबी छ ।
रमेश कर्पका सदस्यहरूले अनाथ आश्रममा भेला भई बालबालिकाबीच चित्रकला प्रतियोगितालगायत विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरू सञ्चालन गरेको जनाइएको छ । बालबालिकाको मुहारमा खुसी, मुस्कान ल्याउन र उनीहरूको जीवनमा सकारात्मक प्रभाव पार्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ ।
कार्यक्रममा रमेश कर्पका उपाध्यक्ष सुशील गुप्ताले तेस्र्रो संस्थापक दिवस विशेष रहेको बताए । यो दिवसले संस्थापक स्वर्गीय रमेश गुप्ता र उनको दर्शनलाई सम्झने र समाजसेवाका कार्यमार्फत समुदायमा पुनः योगदान गर्ने अवसर पाइरहेको उनको भनाइ थियो । उनले भने, ‘बालबालिकाको भलाइका लागि योगदान गर्ने अवसरका लागि हामी आभारी छौँ । समग्रमा, सामाजिक उत्तरदायित्वप्रतिको हाम्रो समर्पण र त्यसको इच्छाशक्तिलाई यो लक्ष्य प्राप्तितर्फको एउटा सानो कदमका रूपमा हेरेका छौँ ।’
अर्का उपाध्यक्ष रोहित गुप्ताले भने, ‘संस्थापक दिवस हाम्रा लागि विशेष अवसर हो । यसमा हामीले हाम्रा संस्थापक रमेश गुप्ताको मूल्य–मान्यता र दृष्टिकोणलाई सम्झन्छौँ । हामी समाजका लागि पुनः योगदानमा विश्वास गर्छौँ ।’