अनाथालयमा मनाइयो रमेश कर्पको संस्थापक दिवस

अनाथालयमा मनाइयो रमेश कर्पको संस्थापक दिवस

विभिन्न औद्योगिक तथा व्यावसायिक संस्थाहरूको कर्पोरेट समूह रमेश कर्पोरेसनले आफ्नो तेस्रो संस्थापक दिवस संस्थापक सामाजिक उत्तरदायित्व पूरा गर्दै अनाथालयमा मनाएको छ । संस्थाले यो वर्षको संस्थापक दिवस काठमाडौंको नक्सालमा रहेको बालमन्दिर अनाथालयमा मनाएको हो । 

संस्थापक रमेश गुप्ताको सम्झनामा गरिएको कार्यक्रममा रमेश कर्पका सदस्यहरूले अनाथालयमा विभिन्न रमाइला गतिविधिको आयोजना गरी बालबालिकासँग समय बिताउनुका साथै बाललालिकालाई एक महिना पुग्ने खाद्य पदार्थ र स्टेसनरीजस्ता आवश्यक वस्तुहरू वितरण गरेर मनाएको संस्थाको भनाइ छ । कार्यक्रमले सामाजिक उत्तरदायित्वप्रति कम्पनीको प्रतिबद्धताले समाजमा सकारात्मक प्रभाव पार्ने आफ्नो मूल्य–मान्यता र समर्पणलाई झल्काउने संस्थाको दाबी छ । 

रमेश कर्पका सदस्यहरूले अनाथ आश्रममा भेला भई बालबालिकाबीच चित्रकला प्रतियोगितालगायत विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरू सञ्चालन गरेको जनाइएको छ । बालबालिकाको मुहारमा खुसी, मुस्कान ल्याउन र उनीहरूको जीवनमा सकारात्मक प्रभाव पार्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ ।

 कार्यक्रममा रमेश कर्पका उपाध्यक्ष सुशील गुप्ताले तेस्र्रो संस्थापक दिवस विशेष रहेको बताए । यो दिवसले संस्थापक स्वर्गीय रमेश गुप्ता र उनको दर्शनलाई सम्झने र समाजसेवाका कार्यमार्फत समुदायमा पुनः योगदान गर्ने अवसर पाइरहेको उनको भनाइ थियो । उनले भने, ‘बालबालिकाको भलाइका लागि योगदान गर्ने अवसरका लागि हामी आभारी छौँ । समग्रमा, सामाजिक उत्तरदायित्वप्रतिको हाम्रो समर्पण र त्यसको इच्छाशक्तिलाई यो लक्ष्य प्राप्तितर्फको एउटा सानो कदमका रूपमा हेरेका छौँ ।’

अर्का उपाध्यक्ष रोहित गुप्ताले भने, ‘संस्थापक दिवस हाम्रा लागि विशेष अवसर हो । यसमा हामीले हाम्रा संस्थापक रमेश गुप्ताको मूल्य–मान्यता र दृष्टिकोणलाई सम्झन्छौँ । हामी समाजका लागि पुनः योगदानमा विश्वास गर्छौँ ।’